बर्दिया — साउन २१ गते भारत उत्तराखण्ड राज्यको पौडी गढवालस्थित बाकुडामा बाढी पहिरोमा बेपत्ता भएकामध्ये एक जना नेपाली महिलाको शव फेला परेको छ । शुक्रबार बिहान पौडी गढवालस्थित गढगाउँका स्थानीय अलैँची बारीमा जाँदा शव फेला परेपछि त्यहाँ रहेका नेपालीलाई जानकारी गराएका थिए ।
बाढी पहिरोले बगाएको स्थान बाकुडाबाट करिब ७/८ किलोमिटरको दुरीमा उक्त शव फेला परेको पौडी गढवालमा रहेका बर्दिया मधुवनका चित्रबहादुर पौडेलले बताए । ‘दायाँ हातमा लगाएको औँठीबाट ती महिलाको पहिचान भएको छ,’ उनले भने, ‘बर्दिया मधुवन नगरपालिका–४ की सन्ध्या खड्काको पहिचान भएको छ । शव फेला पारेपछि घर परिवारलाई जानकारी गराइएको छ ।’
मधुवन नगरपालिका–६ गाउँ नम्बर ४ का एकै परिवारका तीन जना भारतको उत्तराखण्डको पौडी गढवालमा मजदुरी गर्न गएका नरेन्द्र खड्का, उनकी श्रीमती सन्ध्या र २२ महिनाका छोरा रोमन बाढी पहिरोबाट बेपत्ता भएका थिए । गत साउन २४ गते नरेन्द्रको हात मात्र भेटिएको थियो । उनका आफन्तले नरेन्द्रलगायत तीनैजनाको कुशको शव बनाएर दाह संस्कार गरिसकेका छन् ।
शव पोस्टमार्टम लागि रानीखेत लगेर पोस्टमार्टम गरिएको पौडेलले बताए । पोस्टमार्टम भएपछि हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिनेछ । फेला पारेको शवमा हड्डीबाहेक केही छैन । हातको औंठीले शव पहिचान भएको उनले बताए । सन्ध्याका ससुरा चूडामणिले दाह संस्कार दुई पटक गर्न नमिल्ने भएकोले उतै दाह संस्कार गर्न चित्रलाई जनाएको बताए । नेपाली दूतावासका काउन्सिलर एसएसपी प्रकाश मल्लले भारतीय प्रहरीले सन्ध्याको शव भएको जानकारी गराएको बताए । प्रहरीले मृतकको मुचुल्का उठाएको एसएसपी मल्लले जनाए ।
बाढी पहिरोबाट बर्दिया मधुवनका चार जना र गुलरिया नगरपालिकाका एक जना बेपत्ता भएका थिए । बर्दियाका २८ जना मजदुर सडक निर्माणमा काम गरिरहेका छन् । बाँकी १३ जना मजदुर रहेको पौडेलले बताए ।

