धनगढी : सुरो नेपालबाट ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा ६ वटा उजुरी दर्ता भए। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले तीन वटा सहकारी, एक वडा कार्यालय र तीन वटा व्यक्तिगत जाहेरीमाथि छानबिन गरेको थियो।
कञ्चनपुरका हालसम्म एक हजार बढी किसानको तीन करोड ५१ लाख २३ हजार बढी रकम ठगी भएको खुलेकाे हो। कञ्चनपुरका किसानहरूले सुरो नेपालबाट ठगिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए। किसानहरूको उजुरीका आधारमा सुरो नेपालकी अध्यक्ष सुशीला खड्का ओझा र सुनिता चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। सुरो नेपालको सञ्चालक समितिका पाँच जना सदस्य, वितरण समिति, कर्मचारी तथा किसानबाट रकम सङ्कलनमा सहयोग गरेकाहरू विरुद्ध प्रहरीमा उजुरी परेको थियो।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले नौ जना प्रतिवादी विरुद्ध हालसम्म ६ वटा उजुरी जिल्ला अदालत कञ्चनपुरमा दर्ता गरेको छ। किसानको उजुरी, प्रहरीको अनुसन्धान तथा रकम ठगीको प्रमाणसहित अदालतमा मुद्दा दर्ता गरिएको हो। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता सागर बोहराले छ वटा जाहेरी दर्ता भएका बताए। उनले भने, ‘६ वटा जाहेरी छन्। किसानको सङ्ख्या धेरै छन्। कञ्चनपुरको दोदा सहकारीमार्फत २ सय बढी किसानको एक करोड २५ लाख बढी रकम ठगी भएको छ। अन्य क्षेत्रमा वडा कार्यालय, राजनीतिज्ञहरूमार्फत समेत किसान ठगिएका हुन।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ को वडा कार्यालयले नै किसानहरूलाई पावर टिलरमा अनुदान वितरण गर्ने भन्दै ठगिएको भन्दै प्रहरीमा जाहेरी दर्ता गरेको छ। हालसम्म तीन करोड ५१ लाख २३ हजार दुई सय ७५ रुपैयाँ किसानको ठगिएको भन्दै प्रहरीले अदालतमा फाइल पठाएको हो। प्रहरीले किसानको रकम असुलीको माग गर्दै दर्ता गरेको मुद्दाका आधारमा खड्का र चौधरी पुर्पक्षका लागि कारागारमा छन। तर, अन्य सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरू, वितरण समितिका सदस्य र कर्मचारी फरार छन्। हालै मात्र रचना खड्का र सविना बुढा ऐर अदालतमा हाजिर भएका कञ्चनपुर प्रहरीले बताएको छ।
सुरोन नेपालमार्फत पावर टिलर र पानी मोटर अनुदानमा पाउने आसामा रकम बुझाएका कैलाली–कञ्चनपुर लगायतका जिल्लाका किसान ठगिएका हुन्।
कञ्चनपुर प्रहरीले किसानको सावा रकम असुलीका लागि अदालतमा ठगी मुद्दा दर्ता गरेको भएपनि किसानको रकमको व्याजको विषयमा माग गरेको छैन। जिल्ला अदालत, कञ्चनपुरले उक्त विषयमा फैसला भने गरेको छैन।

