२२ माघ, काठमाडौं । नेपालम यतिबेला २१ फागुनमा हुन लागेको मध्यावधि चुनावको माहोल छ । चुनाव हुन्थेन भने सम्पूर्ण नेपालीबीच यतिबेला क्रिकेट नै एकमात्र सर्वाधिक चर्चाको विषय हुन्थ्यो ।
त्यसो हुँदाहुँदै पनि अब केही दिनमा सुरु हुन लागेको आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेटको चर्चा पनि कम भने भएको छैन । किनभने नेपाली क्रिकेट टोली पनि खेल्दैछ, तेस्रोपटक टी-२० विश्वकपमा होमिँदैछ ।
इंग्ल्यान्डपछि नेपालले इटली, वेस्ट इन्डिज र स्कटल्यान्डसँग खेल्नेछ । सबै खेलहरू मुम्बईस्थित वाङ्खडे स्टेडियममै हुँदैछन् । यो हिसाबले आगामी दुई साता नेपाल क्रिकेटमय हुनेछ, हजारौं नेपाली मुम्बईमै पुगेर नेपाली टोलीको समर्थन गर्न आतुर छन् अनि लाखौं नेपाली घरमै बसेर समर्थन गर्न तयार छन् ।
यसअघिका दुई विश्वकपमा समूह चरण पार गर्न नसकेको नेपाली टोली यसपटक भने सुपर ८ पुग्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ । त्यसका लागि नेपालले समूह चरणका चारमध्ये कम्तीमा २ खेल जित्नुपर्नेछ ।
रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीले भारत आउनुअघि श्रीलंका ए सँग अभ्यास खेल खेलेको थियो भने भारत आइपुगेपछि मुम्बईको एमसीए प्रेसिडन्ट ११ सँग पनि अभ्यास खेल खेल्यो भने दुई वार्म अप खेल पनि खेलिसकेको छ ।
अब नेपाली टोली मुख्य भिडन्तका लागि तयार छ । कप्तान रोहित पौडेलले सुपर ८ मा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रने बताएका छन् । बिहीबार आयोजित क्याप्टेन्स मिटमा बोल्दै रोहितले टेस्ट राष्ट्रलाई हराइसकेको र अब फेरि हराउन सक्षम रहेको बताएका हुन् ।
‘हामीले यसअघि पनि टेस्ट राष्ट्रलाई हराइसकेका छौं । अब विश्वकपमा पनि सोही नतिजा दोहोर्याउने लक्ष्य राखेका छौं । तयारी पनि राम्रो भएको छ, सबैजना उत्साहित पनि छन् । सुपर ८ मा पुग्न सक्छौं भन्ने कन्फिडेन्स छ’ रोहितले भने ।
यस्तो छ इतिहास

नेपालले पहिलोपटक सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप खेलेको थियो । त्यसबेला विश्वकप खेलेका खेलाडी सोमपाल कामी हालसम्म पनि खेलिरहने एकमात्र खेलाडी हुन् ।
सोमपालसँगै त्यसबेला विश्वकप खेलेका कप्तान पारस खड्का हाल नेपाली क्रिकेटको अभिभावक संस्था क्यानमा सचिवका रूपमा छन् । त्यसबेलाका उपकप्तान ज्ञानेन्द्र मल्ल केही समयअघिसम्म सहायक प्रशिक्षकका रूपमा थिए । अन्य खेलाडीहरूमा केही विदेशमा सेटल भएका छन् भने केही सन्यासपछि नेपालमै छन् ।
नेपालले सन् २०१४ मा हङकङ र अफगानिस्तानलाई पराजित गर्दा बंगलादेशसँग पराजित भएको थियो । बंगलादेश हङकङसँग पराजित भएकाले नेपालसँग अंक बराबर भएपनि नेटरनरेटमा केही अगाडि रहेकाले दोस्रो चरणमा प्रवेश गरेको थियो ।
नेपालले दोस्रोपटक विश्वकप खेल्न १० वर्ष कुर्नुपर्यो । सन् २०२४ मा दोस्रोपटक विश्वकप खेलेको नेपालले कुनैपनि खेल जित्न भने सकेन । यद्यपी आफ्नो प्रदर्शनबाट सारा विश्वको ध्यान भनि खिच्न सफल भयो ।
नेपालका लागि तीनवटै विश्वकपमा सहभागी हुने एकमात्र खेलाडी सोमपाल कामी १२ वर्षअघि विश्वकप डेब्यू गर्दाको क्षण सम्झिँदै भन्छन्, ‘त्यसबेला सारा विश्वलाई नेपाली क्रिकेटबारे चिनाउन महत्वपूर्ण थियो । हामी पहिलोपटक विश्वकप खेलेर विश्वलाई चिनायौं नेपालमा पनि क्रिकेट हुन्छ भनेर।सबै इमोसनल थियौं खेलाडीहरू, म पनि इमोसनल थिएँ।’
दोस्रोपटक सबै खेलाडीको कडा मेहेनतको प्रतिफल रहेको सोमपालले बताए । ‘दोस्रोपटक धेरै मेहेनत गरेका थियौं, छनोट भएपछि सबै खेलाडीहरू रोएका थिए । छनोट पनि भयौं’ सोमपालले भने, ‘तेस्रोपटक बदलाजस्तै भयो, ओमानले हामीलाई नै हराएर अघिल्लोपटक च्याम्पियन भएको थियो । यसपटक हामीले जित्यौं अनि अपराजित पनि रह्यौंं।’
कप्तान रोहितले सन् २०१४ को विश्वकप हुँदा आफू दर्शकको रूपमा रहेको स्मरण गरे । ‘२०१४ को विश्वकपमा म टिभीमै हेरेको थिएँ, अहिले लगातार दोस्रोपटक यो स्टेजमा नेपाललाई रिप्रेजेन्ट गर्न पाएको छु’ रोहितले भने ।
लक्ष्य सुपर ८ को

दुवै विश्वकपमा समूह चरण पार गर्न नसकेको नेपाली टोलीले यसपटक भने सुपर ८ सम्म पुग्ने लक्ष्य लिएर तयारी गरिरहेको छ ।
नेपालको समूहमा यसअघि बंगलादेश रहेकोमा बंगलादेश हटेपछि स्कटल्यान्ड समावेश भएको छ, जुन कुरा नेपालका लागि केही सहज विषय अवश्य हुनेछ ।
नेपाली टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले पनि अघिल्लोपटक विश्वकपमा खेलिसकेको हुँदा त्यसमा बटुलेको अनुभव र सिकेका कुरालाई प्रयोग गरेर यसपटक अघिल्लो चरणमा पुग्ने लक्ष्य राखेका छन् ।
‘समर्थकहरूले पनि आशा राखेका छन्, हामीले राम्रो क्रिकेट खेलिरहेका छौं त्यसो हुँदा समर्थन पनि पाइरहेका छौं । समर्थकहरूले पनि आशा राखेका हुन्छन् सुपर ८ मा पुग्ने’ दीपेन्द्रले भने ।
सुपर ८ नेपालका लागि किन पनि महत्वपूर्ण छ भने, यसपटक समूह चरण पार गरेर सुपर ८ मा पुग्न सफल भएमा आगामी विश्वकपका लागि स्वत: छनोट हुने प्रावधान छ । त्यसकारण नेपाल सुपर ८ प्रवेश गर्न सफल भएमा सन् २०२८ मा अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने आगामी टी-२० विश्वकपमा सोझै स्थान बनाउनेछ ।
त्यसो भएमा नेपालले छनोट खेल्नुपर्ने छैन । त्यसबीचको समयमा अन्य फर्म्याट- ओडिआईका लागि तयारी गर्ने राम्रो मौका पनि हुनेछ । नेपाली क्रिकेटका लागि त्यो ठूलो प्लस पोइन्टका रूपमा हुनेछ ।
पाँच खेलाडी पहिलोपटक खेल्दै

सोमपाल कामीले तेस्रोपटक विश्वकप खेल्दै गर्दा कप्तान रोहित पौडेलसहित ९ खेलाडीहरू दोस्रोपटक विश्वकपमा सहभागी हुँदैछन् ।
कप्तान रोहितसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा र गुल्शन झाले सन् २०२४ को विश्वकपमा खेलेका थिए ।
यस्तै पाँच खेलाडीले भने पहिलोपटक विश्वकप खेल्ने मौका पाएका छन् । राष्ट्रिय टिममै पहिलोपटक परेका शेर मल्लसहित बसिर अहमद, लोकेश बम, आरिफ शेख र नन्दन यादव पहिलोपटक विश्वकप सहभागिता हुनेछ ।
पाँच नयाँ खेलाडीहरूमध्ये सबैभन्दा बढि नजर मिस्ट्री स्पीनर शेर मल्लमाथि नै हुनेछ । नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा शानदार प्रदर्शन गरेका शेरले विश्वकपमै नेपाली टोलीका लागि डेब्यू गर्ने अवसर पाएका छन् ।
शेर मल्लले पहिलोपटक राष्ट्रिय टोलीबाट खेल्न पाउनु सौभाग्य रहेको बताउँछन् । ‘देशको लागि खेल्न पाउँदा आफूलाई धेरै भाग्यमानी ठानेको छु, अब आगामी दिनका लागि मानसिक रूपमा पनि आफूलाई तयार गरिरहेको छु’ शेरले भनेका छन् ।
यस्ता छन् प्रतिद्वन्द्वी
पहिलोपटक समूह चरण पार गर्ने लक्ष्यमा रहेको नेपाली टोलीका लागि त्यति सहज अवस्था भने हुने छैन ।
नेपालको समूहमा दुई-दुई पटक विश्वकप जितेका इंग्ल्यान्ड र वेस्ट इन्डिजदेखि एसोसियटमा बलियो क्रिकेटिङ राष्ट्रको रूपमा रहेको स्कटल्यान्ड अनि पछिल्लो समय उदाउँदो राष्ट्रका रूपमा रहेको इटली छ ।
टी-२०आई वरियतामा तेस्रो स्थानमा रहेको इंग्ल्यान्डमा विश्वकै उत्कृष्टमध्येका पावर हिटर अनि पेस बलरहरू छन् । इंग्ल्यान्डसँग नेपालले आफ्नो पहिलो खेल नै खेल्ने भएकाले एक किसिमको दबाब पहिलो खेलदेखि नै हुनेछ ।
सोमपालले इंग्ल्यान्डसँग खेल्दा अलि कठिन हुन सक्ने बताएका छन् । ‘इंग्ल्यान्डसँग अलि टफ त होला, तर इंग्ल्यान्ड हरेक विश्वकपमा एउटा टिमसँग हारेको हुन्छ, यसपटक नेपाल नै हुन पनि सक्छ’ उनले भनेका छन् ।
यस्तै दुईपटकको अर्को विजेता टोली वेस्ट इन्डिज पनि बलियो टोलीका साथ मैदान उत्रँदैछ । वेस्ट इन्डिजसँग गत अक्टोबरमा ऐतिहासिक टी-२०आई शृंखला खेलेर जितेको भएपनि त्यसबेला खेलेको टोलीभन्दा विश्वकप खेल्ने टोली बिलकुल फरक छ ।
यता स्कटल्यान्ड पनि विश्वकपमा छनोट हुन असफल हुँदाहुँदै ‘वाइल्डकार्ड इन्ट्री’ सरह छनोट भएर विश्वकप खेल्ने भएकाले यो मौकाको पूर्ण सदुपयोग गर्न चाहनेछ ।
इटलीले विश्वकपअघि टेस्ट राष्ट्र आयरल्यान्डसँगको खेल जितेर आएको छ भने नामिबियासँगको अभ्यास खेल अनि क्यानडासँगको वार्म अप खेल पनि जितिसकेको छ ।
