सर्मिला रोकाया
नेपाली काँग्रेस बाजुराले आफ्नो चुनावी प्रतिज्ञा पत्र आज एक कार्यक्रमका विच सार्वजनिक गरेको छ । बाजुराको कोल्टीमा आमसभाको आयोजना गरी नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सभा सदस्यका उम्मेद्धार बन्नुभएका नेपाली काँग्रेसका केन्द्रिय सदस्य जनकराज गिरीले प्रतिज्ञापत्र सार्वजनिक गर्नुभएको हो । काँग्रेस महत्वकाँक्षा भन्दा पनि बाजुराको दिगो विकास र समृद्धिका प्रति प्रतिवद्ध रहेको बताउदै नेपाली काँग्रेसले आगामी निर्वाचन पछि गर्ने कामको जानकारी गराउदै प्रतिज्ञा गरेको हो । काँग्रेस बाजुराका सभापति रामसिह रावलको अध्यक्षता र नेपाली काँग्रेसका सह महामन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आथित्यतामा आयोजित समारोहमा प्रतिज्ञा पत्र सार्वजनिक गरेको हो । कार्यक्रममा नेपाली काँग्रेस बाजुराका नेता तथा पूर्व प्रदेश प्रमुख देवराज जोशी, पूर्वसभापतिहरु मान ब रावल, कविराज पण्डित, राष्ट्रियसभाका सदस्य खम बहादुर खाती, नेपाली काँग्रेसका केन्द्रिय सदस्य विद्या तिमिल्सेना, संविधानसभा सदस्य महाँ नेपाली, प्रदेशसभा सदस्य पदम शाही, जुना दानी लगायत जिल्लाका नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।
प्रतिज्ञा पत्रका मुख्य बुदाः
१. बाजुरालाई राष्ट्रिय प्राथमिकतामाः
बाजुरालाई संघीय सरकारको प्राथमिक जिल्लाको सूचीमा राख्न निरन्तर पहल गर्नेछु । भौगोलिक विकटता र विकासका सूचकका आधारमा बजेट विनियोजन सुनिश्चित गर्ने नीति अघि सार्नेछु । रकम ‘फ्रिज’ नहुने व्यवस्थाका लागि कानुनी पहल गर्नेछु ।
२. शिक्षा ः सीप सहितको भविष्य
सामुदायिक विद्यालयको गुणस्तर सुधार, शिक्षक व्यवस्थापन र प्रविधिमैत्री शिक्षाको ब्यवस्था गर्नेछु । जिल्लामा प्राविधिक शिक्षालय स्थापनाका लागि विशेष पहल गर्नेछु ।
जिल्लामा स्थापना भएका उच्च तहका शिक्षालयहरुलाई सीप विकास केन्द्रका रुपमा विकास गर्न आवश्यक पहल गर्नेछु ।
“पढ्दै कमाउँदै” कार्यक्रम र सीपमूलक शिक्षा विस्तार, कृषि, निर्माण, पर्यटन र सूचना प्रविधिमा व्यवहारिक तालिम, विद्यालयस्तरमै योग, ध्यान, संस्कार शिक्षा र मनोसामाजिक परामर्श जस्ता सामाजिक विकासका कार्य गर्नेछु ।
शिक्षा अब प्रमाणपत्रको होइन—रोजगारको आधार बन्नुपर्छ ।
३. स्वास्थ्य ः सेवा गाउँमै
मार्तडी , कोल्टी र टाँटेमा २४ घण्टे विशेषज्ञ सेवासहितको सु–सज्जित प्राथमिक स्वास्थ्य केन्द्र र अस्पताल बनाउने,
मातृ–शिशु मृत्युदर र कुपोषण न्यूनीकरणका लागि विशेष कार्यक्रम सञ्चालन गर्नेछु ।
दुर्गम भेगका जटिल बिरामीका लागि हेलिकप्टर उद्धार (हवाइ एम्वुलेन्स) कोषलाई थप प्रभावकारी र छरितो बनाउन पहल र प्राथमिक स्वास्थ्य चौकीमा आवश्यक जनशक्ति र उपकरण व्यवस्थापन गर्नेछु ।
स्वास्थ्य सेवा अधिकार हो, पहुँचको विषय होइन ।
४. कृषि, जडीबुटी र रोजगारी
बाजुराको भविष्य कृषि र प्राकृतिक स्रोतमा छ । त्यसैले जिल्लाको कृषि विकासका लागि बागवानी विकास फार्म स्थापना, रैथाने बीउ संरक्षण र जलवायु अनुकूल खेती प्रवद्र्धन, सार्वजनिक तथा बाँझो जमिन सामूहिक खेतीमा उपयोग, स्याउ, ओखर, सुन्तला लगायत फलफूल तथा रैथाने बालिको उत्पादन वृद्धि र निर्यात सहजीकरण, जडीबुटी खेती र प्रशोधन केन्द्र र कोल्ड स्टोर स्थापना र सहकारी मार्फत बजार सुनिश्चितता गर्नेछु ।
गाउँमै उत्पादन, गाउँमै रोजगारी—यही मेरो लक्ष्य हो ।
५. पर्यटन ः सम्भावनालाई समृद्धिमा
बडिमालिका, बुढीनन्दा, नाटेश्वरी, शिम्भुनाथ, पिलुपादुका देउरा, जगन्नाथ र खप्तड, छेडेदह, रानीशैन लगायत जिल्लाका धार्मिक, प्राकृतिक र साहसिक स्थलहरूको पूर्वाधार विकास गर्नेछु ।
कोल्टी विमानस्थललाई मुख्य पर्यटन प्रवेशद्वारका रूपमा विकास गर्नुका साथै यसलाई रिफ्युलीङ सेन्टरका रुपमा विकास गर्न सम्भाब्यता अध्ययन गर्नुका साथै कोल्टी विमानस्थललाई कर्णाली र सुदुरपश्चिमका पहाडी जिल्लाका पर्यटकीय क्षेत्र जोडने केन्द्रका रुपमा विकास गर्न आवश्यक पहल गर्नेछु ।
बाजुरा–रारा–जुम्ला पर्यटन सर्किट प्रवद्र्धन गरी खस संस्कृति र सभ्यतालाई हेर्ने र अध्ययन गर्ने मुख्य मार्ग बनाउन कर्णाली करिडोरसंग यी मार्गहरुलाई जोड्न आवश्यक पहल गर्नेछु । साथै बाजुरालाई कर्णालीका जिल्ला सरहको सेवा सुविधाका लागि आवश्यक पहल गर्नेछु ।
बाजुराको गौमुल लगायत विभिन्न गाउपालिकामा भएका खानीहरुको सम्भाब्यता अध्ययन र उद्खनन् गरी जिल्लालाई फलाम लगायत धातुहरुको उद्खनन्मा आवश्यक कार्य गर्नेछु ।
बाजुराको पर्यटन प्रवद्र्धनका लागि उपयुक्त स्थानमा केवलकार सम्भाब्यता अध्ययन गरी आवश्यक पहल गरिने छ ।
पर्यटन केवल भ्रमण होइन—आर्थिक क्रान्तिको आधार बन्न सक्छ ।
६. पूर्वाधार र यातायात
कर्णाली करिडोरसंग सेती लोकमार्ग र साँफे–मार्तडी–कोल्टी सडकलाई जोड्दै बाजुराका सवै स्थानीय तहलाई मुख्य राजमार्गसँग जोड्ने र स्थानिय स्तरमा उत्पादन हुने उपज निर्यातका लागि आवश्यक काम गर्नेछु । हाल ट्याक ओपन भएका ग्रामिण सडकको स्तरवृद्धिको कार्य गर्नेछु र सडक सञ्जालसंग नजोडिएका गाउँवस्तीलाई सडक सञ्जालसंग जोड्ने कार्य गर्नेछु ।
हवाई सेवाको नियमितता र शुलभता सुनिश्चित गरिनुका साथै सम्भाव्यताका आधारमा बडिमालिकाको कपाल्टामा नयाँ विमानस्थल निमार्णका लागि आवश्यक पहल गर्नेछु ।
बाजुराका लघु जलविद्युत योजनाबाट उत्पादित विद्युतलाई राष्ट्रिय प्रशारण लाइनसंग जोड्ने र जिल्लाका १०० प्रतिशत जनतामा विद्युत सुनिश्चितताको काम गर्नेछु ।
विद्युत, सडक र यातायात विकासको मेरुदण्ड हुन् ।
७ खेलकुद ः
जिल्ला सदरमुकाममा बहुउदेश्यीय कवडहल निमार्ण गरिने छ । नेपालमा बढी रुचाइएको क्रिकेट खेलको विकासका लागि बाजुराको हिमाली गाउँपालिकाको वडा नं ७ बाधुको दहखब्ला र त्रिवेणी नगरपालिकामा क्षेत्रीय स्तरको किक्रेट मैदानको निमार्ण गरिने छ । बुढीगंगामा क्षेत्रीय स्तरको फूटवल मैदान र ९ ओटै स्थानीय तहहरुमा कम्तीमा एक राम्रो खेल मैदानको सुनिश्चितताका लागी पहल गर्ने छु ।
८. युवा शक्ति ः विदेश होइन, अवसर यहीँ
हाम्रा युवा भारत र खाडीमा पसिना बगाउन बाध्य नहुन् । त्यसैले प्रत्येक पालिकामा युवा सीप विकास केन्द्र स्थापनाका लागि पहल गर्ने छु । उनीहरुलाई निःशुल्क÷सहुलियत तालिम, बिनाधितो स्वरोजगार ऋण, स्टार्टअप, नवप्रवर्तन र खेलकुदलाई बजेट प्राथमिकता, विदेश जानुअघि सूचना र कानुनी सहायता केन्द्र स्थापनाका लागि काम गर्ने छु ।
यो समय युवाको हो । यो समय परिणामको हो ।
९. वन, वातावरण र सामुदायिक आम्दानी
वन पैदावारबाट स्थानीय आम्दानी वृद्धि गर्ने, काष्ठ तथा जडीबुटी उद्योगलाई प्रोत्साहन गर्ने र समयानुकूल वन नीति सुधार गर्नेछु । वन पैदावरलाई आम्दानीको स्रोतको रुपमा विकास गर्ने नीतिगत पहल गर्नेछु ।
१०. सुशासन र जवाफदेहिता
भ्रष्टा«चारमा शुन्य सहनशीलताको नीति अवलम्वन गर्दै, पारदर्शिता, जवाफदेहिता र जनमैत्री सेवा मेरो राजनीतिक आचरण हुनेछ ।
म पाँच वर्षपछि फेरि तपाईंहरूमाझ भाषण होइन—कामको नतिजाको हिसाब लिएर आउनेछु ।
११. प्रौढ सम्मान
जिल्लाका ३ मुख्य ठाउँमा प्रौढ मिलन केन्द्र स्थापना गरी स्वास्थ्य, अनुभव र पुस्तान्तरणलाई संस्थागत गर्नेछु ।
१२. युवा स्वरोजगार ः जिल्ला भरिका बेरोजगार युवाहरुको तथ्याङक संकलन गरी सिप, क्षमता र दक्षताका आधारमा युवालाई उत्पादनसंग जोड्ने कार्यक्रमलाई प्रोत्साहन दिइने छ । जिल्लाका ९ वटै पालिकामा प्रति स्थानीय तह कम्तीमा १०० जना युवालाई रोजगारीको अवसर सिर्जना गर्न आवश्यक पहल गर्नेछु ।
१३. बाजुराको कुल ग्राहस्त उत्पादन ९न्म्ए०, प्रति ब्यक्ति आय र सरदर औषध आयुका आधारमा राज्यलाई विशेष सुविधाका लागि आवश्यक पहल गर्ने, बाजुरा जिल्लामा राष्ट्रिय तथा अन्तराष्ट्रि र स्थानिय संघसंस्थाका कार्यक्रम तथा आयोजनाहरुलाई सञ्चालन तथा लागु गर्न विशेष पहल गर्नेछु ।
बाजुरा जिल्लालाई जातीय भेदभाव, छुवाछुत उत्पीडन मुक्त समाज बनाउनका लागि सचेतनाका विभिन्न कार्य गर्नेछु । साथै हलिया, खलिया, परम्परागत पेशा ब्यवसायमा संलग्न पछाडी परेको वर्ग, समुदाय, महिला, दलित, अपाङ लगायतलाई आत्म निर्भर बनाउनका लागि उनीहरुलाई तालिम र स्वरोजगारका कार्यक्रमहरुमा आवश्यक काम गर्नेछु ।

