काठमाण्डौ – गएराति सिन्धुपाल्चोक, जाजरकोट र कञ्चनपुरमा बाढी आउने गरी पानी परेको छ । जाजरकोटको नलगाड रौलाखेत जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेकाले नदी तटीय क्षेत्रमा बस्नेहरूलाई सतर्क रहन मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
यस्तै सिन्धुपाल्चोकको बलेफी जलबिरे जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेकाले नदी तटीय क्षेत्रमा बस्नेहरूलाई सावधानी अपनाउन भनिएको छ । कञ्चनपुरमा अस्ति आइतवार रातिदेखि नै अविरल वर्षाका कारण महाकाली नदीसहितका खोलानालामा बाढी आएको छ ।
महाकाली नदी पारिगाउँमा आज बिहानसम्म नदी किनार र आसपासका डुबान भइरहने ठाउँका बासिन्दा सतर्क रहन विभागले आग्रह गरेको छ । बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका केही घर डुबानमा परेका छन् ।
आज कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँहरूमा र बाँकी पहाडी र तराई भू-भागका थोरै ठाउँहरूमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

