बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर ३ जुकोटका धनराज शाहीको परिवार अहिले पीडादायी जीवनमा रुमलिएको छ ।शाहीका छोरा छोरी विगत ७ बर्षदेखि थलामा परेका छन्।गम्भिर शाररीक समस्याबाट उनीहरुका छोराछोरी थलामा परेका हुन् । सामान्य परिवारका शाहीले अहिलेसम्म आफ्ना छोराछोरीको उपचार गराउन सकेका छैनन् । आर्थिक अभाव नै उनीहरुको लागी काल बनेको छ ।
अहिलेसम्म उनीहरुलाई के समस्या भएको हो भन्ने पहिचान समेत हुन सकेको छैन् । शाहीकी छोरी पुष्पा २६ बर्षकि भईन भने छोरा शिशिर २४ बर्षका भएका छन्। छोरी पुष्पा करिब २० वर्षको उमेरसम्म सामान्य अवस्थामा थिइन्। +२ उत्तीर्ण गरेपछि,करिब २२ वर्षको उमेरदेखि अचानक शारीरिक समस्या देखिन थालेको उनका बुबा बुवा धनराज शाहीले बताए । क्रमशः उनी हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेकी र समयमै उपचार नपाउँदा अहिले उनी पूर्ण रूपमा थलिएकी शाहीले जानकारी दिए । त्यस्तै, छोरा शिशिरलाई पनि छोरीलाई देखिएको समस्या पछि–पछि देखा पर्न थालेको बताए । हाल उनी पनि सामान्य रूपमा हिँडडुल गर्न नसक्ने अवस्थामा रहेका छन्।
दुबै सन्तान बोलचाल गर्न सक्ने भए पनि शरीर चलाउन नसक्ने भएकाले उनीहरूको दैनिकी अरूको सहारामै बितिरहेको बुबा धनराज शाहीले बताएका छन् ।आर्थिक अभावका कारण छोराछोरीको उपचार गराउन नसकेको शाहीको भनाई छ । छोराछोरीको उपचार गराउने शाहीको चाहना भए पनि त्यो चाहना चाहानामै सिमित हुन बाध्य छ । शाहीले छोराछोरीको उपचारमा सहयोग गरिदन समेत अपिल गरेका छन् । आफ्नो परिवार अपाङ्ग परिचयपत्र, सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य परीक्षण र उपचारमा सहजीकरणबाट वञ्चित भएको समेत उनले बताएका छन् । दुर्गम क्षेत्रका गरिव तथा विपन्न परिवारले अनेकौँ दुख,कष्ट झेल्नुपर्ने बाध्यता रहेकोे पत्रकार जितजंग कटेलले बताए ।
बाजुराका गरिव परिवारले जीवनभर तड्पि तड्पि मर्नुपर्ने अवस्था रहेको पत्रकार कटेलको भनाई छ । यो घटना केवल उदाहरण मात्र भएको बताउँदै उनले यस्ता कयौँ घटना बाजुरामा रहेको जानकारी दिए । साथै उनले शाहीको घरपरिवारको अवस्थाबारे स्वयम् उपस्थित भई सम्पुर्ण समस्याबारे बुझेको र उनीहरुको उपचारमा सक्दो सहयोग गर्ने समेत बताएका छन्। छोराछोरीको समस्याबारे स्थलगत रिपोटिगं गरेको बताउँदै उनीहरुको उपचारका सहयोग पुर्याउन विभिन्न सामाजिक अभियान्ताहरु संग समन्वय गरिरहेको जानकारी दिएका छन् ।

