बाजुरा । बुढीनन्दा नगरपालिका वडा नं. ९ निवासी ३२ वर्षीय प्रेम दमाईको घरमा बिहीबार साँझ परिवारका सदस्यहरू बसिरहेको अवस्थामा एक्कासि घरको बीचको तला भासिँदा घरमा रहेका सामानसहित ठूलो क्षति भएको छ। घटनामा घरपरिवारका सदस्यहरू घाइते भएका छन्।
घटनालगत्तै बुढीनन्दा नगरपालिकाले घाइतेहरूको कोल्टी आधारभूत अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरेको छ। साथै, सात जना छोराछोरीसहितको परिवारलाई तत्काल राहतस्वरूप ४ कट्टा चामललगायत घरायसी आवश्यक सामग्री हस्तान्तरण गरेको छ।
नगरप्रमुख जनककुमार बोहरा घटनास्थलमै पुगेर पीडित परिवारको अवस्था बुझ्नुका साथै तत्काल आवश्यक राहत सामग्री वितरण गरिएको जानकारी दिनुभएको छ।
सामान्य आर्थिक अवस्था भएका प्रेम दमाई खेतीकिसानी गरेर परिवारको जीविकोपार्जन गर्दै आएका छन्। सात जना छोराछोरीसहित ठूलो परिवार रहेको दमाईको घर भासिएपछि परिवार अहिले सुरक्षित आवासको अभावमा समस्यामा परेको छ।
घर भासिएपछि परिवारको दैनिक जीवनयापनसमेत प्रभावित भएको छ। पीडित परिवारलाई तत्काल राहतसँगै सुरक्षित आवासको व्यवस्था गर्न सम्बन्धित निकायको ध्यान जान आवश्यक देखिएको छ।
घरको बीचको तला भासिँदा प्रेम दमाईको परिवार विचल्लीमा, नगरपालिकाद्वारा राहत तथा उपचारको व्यवस्था

