काठमाडौँ — एम्नेस्टी इन्टरनेसनलको पछिल्लो प्रतिवेदनका अनुसार पछिल्ला वर्षहरूमा साउदी अरबमा मृत्युदण्डको दर बढ्दो छ । साउदी सरकारको अधिकारिक प्रेस एजेन्सीको तथ्यांकअनुसार २०१४ जनवरीदेखि २०२५ जुनसम्म १ हजार ८ सय १६ जनालाई मृत्युदण्ड दिइएको थियो । मृत्युदण्ड पाउनेमा खासगरी लागूऔषधसम्बन्धी मुद्दामा विदेशी नागरिक रहेका छन् ।
१० वर्षभित्र लागूऔषधसम्बन्धी अपराधमा मृत्युदण्ड दिइएका ५ सय ९७ मध्ये ७५ प्रतिशत विदेशी नागरिक रहेको एम्नेस्टीले जनाएको छ । २०२४ मा साउदीमा ३ सय ४५ जनालाई मृत्युदण्ड दिइएको थियो । २०२५ को जनवरीदेखि जुनसम्म मात्र १ सय ८० जनालाई मृत्युदण्ड दिइएको छ । जुन महिनामा मात्रै साउदी अरबले ४६ जनालाई मृत्युदण्ड दिएको थियो । त्यसमा नेपाल, इजिप्ट, इथियोपिया, जोर्डन, नाइजेरिया, पाकिस्तान, सोमालिया र सिरियाका नागरिक छन् ।
एम्नेस्टी इन्टरनेसनलको मध्यपूर्व र उत्तर अफ्रिकाका उपक्षेत्रीय निर्देशक क्रिस्टिन बेकेर्लेले आफूहरू अत्यन्त भयावह प्रवृत्तिको साक्षी बनिरहेको बताएकी छन् । ‘मृत्युदण्डलाई क्रूर र निर्दयी ढंगले प्रयोग गर्नु साउदी अरबको मानवजीवनप्रतिको उपेक्षा हो,’ एम्नेस्टीको पछिल्लो प्रतिवेदन सार्वजनिक गर्दै उनले भनेकी थिइन् ।
ह्युमन राइट्स वाचसहितको ८ वटा संस्थाहरूका अनुसार साउदी अरब वर्षौंदेखि विश्वमा सबैभन्दा बढी मृत्युदण्ड कार्यान्वयन गर्ने मुलुकभित्र पर्छ । उनीहरूले साउदी युवराज मोहम्मद बिन सलमानले आफ्नो प्रतिबद्धता पूरा नगरेको भन्दै आलोचना गरिरहेका छन् ।
२०१८ मा युवराज मोहम्मद बिन सलमानले मृत्युदण्डको प्रयोग घटाउने वाचा गरेका थिए । उनले २०२२ मार्चमा पनि मृत्युदण्ड सीमित गर्ने प्रतिबद्धता पुनः दोहोर्याएका थिए । कोरोना भाइरस महामारीको समयमा मृत्युदण्डको सजायलाई कार्यान्वयन गरिएको थिएन । त्यसपछि मृत्युदण्डको कार्यान्वयनको दर निरन्तर बढ्दो छ ।
मानवअधिकारवादी अन्तर्राष्ट्रिय संस्था इक्विडेम फाउन्डेसनका दक्षिण एसिया निर्देशक रामेश्वर नेपालले मानवअधिकारको विश्वव्यापी घोषणापत्र र अन्तर्राष्ट्रिय नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी महासन्धि (आईसीसीपीआर) ले व्यक्तिको जीवन खोस्ने रोकेको बताए ।
‘जीवन दिन सकिँदैन भने लिनु पनि हुँदैन भन्ने मानवअधिकारको विश्वव्यापी सिद्धान्त हो । आपराधिक कर्ममा लागेको मान्छेले कसैको जीवन लिएको छ भने जघन्य अपराधको रूपमा लिएको हुन्छ । उसलाई सजाय हुनुपर्छ । अपराध गर्नेलाई सुधारमा ल्याउने हो,’ उनले भने, ‘गल्ती, अपराध र कसुर गरेकोलाई सजाय दिने हो, तर त्यो दण्ड मृत्युदण्ड हुनुहुँदैन ।
ह्युमन राइट्स वाचसहितको ८ वटा संस्थाहरूले आईसीसीपीआरको धारा ६(२) अनुसार ‘सबैभन्दा गम्भीर अपराध’ को परिभाषामा नपर्ने अपराधका लागि मृत्युदण्ड दिने प्रावधान तत्काल हटाइनुपर्छ । ‘साउदी अरबमा भयावह स्तरमा मृत्युदण्ड कार्यान्वयन भइरहेको पृष्ठभूमिमा हामी त्यहाँका अधिकारीहरूलाई तत्काल आधिकारिक रूपमा मृत्युदण्डमा प्रतिबन्ध घोषणा गर्न र सबै अपराधका लागि मृत्युदण्ड पूर्ण रूपमा अन्त्य गर्ने दिशामा अगाडि बढ्न आग्रह गर्दछौं,’ ह्युमन राइट्स वाचसहित ७ वटा संस्थाको वक्तव्यमा भनिएको छ, ‘साउदी अरबले अन्तर्राष्ट्रिय मानवअधिकार कानुनको उल्लंघन गर्ने सबै कानुनी प्रावधानहरूलाई हटाउनुपर्छ ।’
मृत्युदण्ड पाउनेमा नेपाली पनि
साउदी अरबले कास्कीका ४३ वर्षीय पुष्पराज रानाभाटलाई फाँसी दिइएको घटनालाई परराष्ट्र मन्त्रालयले तीन महिनासम्म गुपचुप बनायो । उनलाई १९ जेठको बिहान ७ः५९ मा साउदीको दमाममा मृत्युदण्ड दिइएको थियो ।
साउदीका लागि नेपाली राजदूत नरेशविक्रम ढकालका अनुसार मृत्युदण्डको सजाय कार्यान्वयन भइसकेपछि मात्रै दूतावासलाई आधिकारिक खबर दिइएको थियो । त्यो खबर पाएलगत्तै दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको थियो । रानाभाटले आफ्नै सहकर्मीको हत्या कसुरमा त्यहाँको सर्वोच्च अदालतले मृत्युदण्डको फैसला गरेको थियो । उनले २०८० असोज २ मा एउटै कोठामा बस्दै आएका ५० वर्षीय भाग्यनारायण राय र ४४ वर्षीय सरोजकुमार झाको हत्या गरेका थिए ।
साउदीमा अदालतले मृत्युदण्ड तोके पनि पीडक र पीडित पक्षबीच ‘ब्लडमनि’ लिई मेलमिलाप गर्न पाउने व्यवस्था छ । तर मेलमिलाप गराउन सरकारी निकायले पहल गरेन । यसअघि साउदीमा नेपालीद्वारा नेपालीकै हत्या भएको मुद्दामा पीडक र पीडित पक्षबीच मेलमिलाप भएका थिए ।
सहकर्मी विष्णु घिमिरेको हत्यामा दोषी ठहरिएका पर्वतका उत्तम कुँवरलाई मृत्युदण्ड सजाय सुनाइएको थियो । तर पीडक र पीडित परिवारबीच मेलमिलाप भएपछि कुँवरले माफी पाएर स्वदेश फर्किसकेका छन् । त्यस्तै पाकिस्तानी नागरिकको हत्यामा दोषी ठहरिएका धनुषाका उमेश यादवलाई पनि पाकिस्तानी नागरिकको परिवारले माफी दिएपछि स्वदेश फिरे ।
पछिल्लो तीन वर्षमा हरेक वर्ष जस्तो नेपालीलाई पनि फाँसी भइरहेको छ । २०८० जेठ दोस्रो साता पर्वतका सन्तबहादुर पुनलाई फाँसी दिइएको थियो । उनी २२ वर्षदेखि साउदी अरेबियाको कुरैयात जेलमा थिए । साउदी नागरिक ओदा विन अऐदा विन हमोद अल सरारीको हत्यामा पुनलाई दोषी ठहर गरिएको थियो ।
लामो समय जेल जीवन बिताइसकेको भन्दै राष्ट्रपतिबाट माफी दिलाउन साउदीका राजालाई पत्र पठाई पनि पीडित पक्षले नमानेपछि फासी दिइएको थियो । २०७९ कात्तिक ६ मा उदयपुरका विवेक दाहालको मृत्युदण्डको सजाय कार्यान्वयन भएको थियो । दाहाललाई पीडित पक्षले माफी दिएको थियो । १५ वर्षदेखि साउदीमा जेल जीवन बिताइसकेका दाहाललाई माफी दिने कि नदिने भनेर फेरि अदालतमा मुद्दा ब्युँतियो । अदालतमा न्यायाधीशको रायको मत बाझिएपछि दाहाललाई फाँसी नै दिइयो ।
