अफगानिस्तानको दक्षिण–पूर्वी दुर्गम क्षेत्रमा गएराति ५.६ म्याग्निच्युडको भूकम्प गएको छ । यो पछिल्ला छ दिनभित्र तेस्रो ठूलो भूकम्प हो । भूकम्पपछि नङ्गरहार र कुनार प्रान्तका स्थानीयहरू त्रसित हुँदै आश्रयस्थल छाडेर निस्किएका थिए ।
गएरातिको भूकम्पमा ज्यान गुमाउने वा घाइतेबारे यकिन विवरण सार्वजनिक नभए पनि कुनार प्रान्तीय अस्पतालमा १७ जना घाइतेलाई उपचारका लागि लगिएको खबरमा उल्लेख छ । यसअघि गएको आइतवार ६ म्याग्निच्युडको भूकम्पबाट दुई हजार दुई सय जनाको ज्यान गएको र तीन हजार छ सय जना घाइते भएका तालिबान सरकारलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।
दुर्गम भौगोलिक अवस्थाका कारण उद्धारको काम अझै पनि चुनौतीपूर्ण बनेको छ । गएको मङ्गलवार ५.५ म्याग्निच्युडको अर्को भूकम्पले अस्थायी रूपमा उद्धार कार्य अवरुद्ध बनाएको थियो । लगातार पराकम्पनहरू आइरहेका कारण जनजीवन त्रसित बनेकोे छ । अफगानिस्तान भारतीय र युरेसियन प्लेटहरू भएको क्षेत्रमा रहेको हुँदा भूकम्पीय दृष्टिले अत्यन्त संवेदनशील मानिन्छ ।

