बाजुराकाे स्वामिकार्तिक खापर गाउपालिकामा जन्नत स्पोर्ट युथ क्लबको आयोजनामा सञ्चालन भएको प्रथम स्वामिकार्तिक क्रिकेट कप प्रतियोगिता–२०८२ काे उद्घाटन भएको छ। प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेश प्रतिनिधिसभाका सदस्य पदम बहादुर शाहीले गर्नुभएको हो।
उद्घाटन समारोहका प्रमुख अतिथि रहनु भएका प्रतिनिधिसभा सदस्य शाहीले खेलकुदले युवालाई अनुशासन, नेतृत्व र सकारात्मक सोचतर्फ डोर्याउने बताउँदै यस्ता प्रतियोगिताले स्थानीय प्रतिभा पहिचान गर्न महत्वपूर्ण भूमिका रहेकाे उल्लेख गर्नुभयो। त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकाया तथा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि कमल बुढा रहनु भएको थियो। विशिष्ट अतिथि रोकायाले गाउँपालिकाले खेलकुद विकासलाई प्राथमिकतामा राख्दै आएको बताउँदै युवामैत्री गतिविधिमा निरन्तर साथ र सहयोग रहने स्पष्ट पार्नुभयो।
त्यसैगरी नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि बुढाले युवालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता सराहनीय रहेको बताउँदै आयोजक टिमलाई धन्यवाद दिनुभयो।
उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न क्लबका पदाधिकारी, खेलप्रेमी दर्शक तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रतियोगितामा पाँच टिमहरूको सहभागिता रहेका आयोजक जन्नत स्पोर्ट युथ क्लबले जनाएको छ।
प्रतियोगिताले स्थानीय स्तरका क्रिकेट खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलकुदमार्फत आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्ने अपेक्षा गरिएको जन्नत स्पाेट युथ क्लबका अध्यक्ष प्रख्यात जङ्ग शाहि बताउनु भएकाे छ ।
जन्नत स्पोर्ट युथ क्लबको आयोजनामा सञ्चालन भएको प्रथम स्वामिकार्तिक क्रिकेट कप प्रतियोगिता–२०८२ काे उद्घाटन ।।

