बाजुरा
बाजुराको बुढीनन्दा नगरपालिका–४ मा अवस्थित सिमकुरु पछिल्लो समय सडक, यातायात तथा राज्यका आधारभूत सेवासँग प्रत्यक्ष जोडिँदै पर्यटकीय गन्तव्यका रूपमा समेत चर्चामा आउन थालेको छ।
स्थानीयका अनुसार विगतमा विभिन्न सेवा सुविधाबाट टाढा रहेको सिमकुरुमा अहिले सडक यातायातको पहुँच विस्तार भएसँगै गाउँमै सरकारी तथा आधारभूत सेवाहरू उपलब्ध हुन थालेका छन्। यसले स्थानीयको दैनिक जीवन सहज बनाएको छ।
बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनककुमार बोहराका अनुसार नगरपालिकाका १० वडामध्ये वडा नम्बर ४ लाई विकास र सेवा प्रवाहका दृष्टिले पहिलो प्राथमिकतामा राखिएको छ।
नगरप्रमुख बोहराले निर्वाचनका बेला सिमकुरुका नागरिकसँग गरेका प्रतिबद्धता क्रमशः पूरा हुँदै गएको बताउँदै सडक, यातायात र स्वास्थ्य सेवामा उल्लेखनीय सहजता आएको जानकारी दिनुभयो।
पछिल्लो समय सिमकुरुमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमनसमेत बढ्दै गएको स्थानीयको भनाइ छ। प्राकृतिक सौन्दर्य र स्थानीय विशेषताका कारण सिमकुरु पर्यटकीय सम्भावना बोकेको क्षेत्रका रूपमा परिचित हुँदै गएको छ।
सडक तथा आधारभूत सेवाको पहुँच विस्तारसँगै सिमकुरुलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके स्थानीयस्तरमा रोजगारी, आर्थिक गतिविधि र पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।
सडक, यातायात र राज्यका सेवासँग जोडिँदै सिमकुरु, पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै

