कालिकोट — कर्णाली नदी किनार क्षेत्रमा पर्ने पलाँता गाउँपालिकाभित्र सञ्चालन गरिएको एक विकास योजना फेरि विवादमा परेको छ। करिब ७५ लाख रुपैयाँभन्दा बढी बजेट खर्च भएको कागजमा देखिए पनि पाँच वर्षसम्म योजना अधुरो रहेको विषय बाहिरिएपछि अहिले कानुनी प्रक्रिया अघि बढेको छ।
सम्बन्धित निकायको अनुसन्धानका क्रममा झुटा बिल र प्रतिवेदनमार्फत रकम दुरुपयोग भएको आशंका गरिएको छ। यस विषयमा छानबिन अघि बढाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले पनि अनुसन्धान थालेको बताइएको छ। अनुसन्धानका क्रममा कागजमा काम सम्पन्न देखाइएको भए पनि वास्तविक रूपमा योजना पूरा नभएको तथ्य फेला परेको जनाइएको छ।
स्थानीयका अनुसार योजनामा संलग्न वास्तविक जिम्मेवार व्यक्ति खुलेआम हिँडिरहेका भए पनि उपभोक्ता समिति सदस्यहरू भने मुद्दा खेप्न बाध्य भएको गुनासो गरिएको छ। योजना कार्यान्वयनको जिम्मेवारी लिएका उपभोक्ता समितिका केही सदस्यहरू अहिले कानुनी प्रक्रियामा परेका छन्।
यसबीच मुद्दा अदालतसम्म पुगेपछि लामो समयदेखि अधुरो रहेको काम रातारात सुरु गरिएको स्थानीयहरूले बताएका छन्। दिनको समयमा काम नगरी रातिको समयमा मात्रै काम भइरहेको देखिएको भन्दै स्थानीय बासिन्दाले थप शंका व्यक्त गरेका छन्। उनीहरूका अनुसार दिनमा काम गर्दा सबैले देख्ने भएकाले राति काम गरेर योजना पूरा भएको देखाउने प्रयास भइरहेको हुन सक्ने आशंका गरिएको छ।
स्थानीय बासिन्दाका अनुसार यसअघि पनि यस्तै गरी रातारात काम गर्ने प्रयास गरिएको थियो। तर रातिको समयमा काम भइरहेको थाहा पाएपछि स्थानीयले विरोध जनाएलगत्तै काम रोकिएको थियो।
पुनः अहिले कानुनी दबाब बढेपछि हतारहतार काम सुरु गरिएको जनाइएको छ। लामो समयदेखि रोकिएको काम अचानक राति–राति हुन थालेपछि योजनाको पारदर्शिता र जिम्मेवारीमाथि थप प्रश्न उठेको स्थानीयहरूको भनाइ छ।
स्थानीय बासिन्दाले सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी वास्तविक दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन्। साथै योजनाको काम गुणस्तरीय रूपमा सम्पन्न गरी जनताले पाउने सेवा–सुविधामा कुनै प्रकारको सम्झौता हुन नहुने उनीहरूको धारणा रहेको छ।
अधुरो योजना फेरि चर्चामा : कानुनी दबाबपछि रातारात काम सुरु

