कालिकोट
पलाता गाउँपालिकाको १८औँ गाउँसभा गाउँपालिका केन्द्र रानीसैनमा भव्य रूपमा सम्पन्न भएको छ। गाउँसभाको अध्यक्षता गाउँपालिका अध्यक्ष विष्णुबहादुर रोकायाले गर्नुभएको थियो। गाउँसभामा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका पदाधिकारी, बुद्धिजीवी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा अध्यक्ष रोकायाले निर्वाचित भएपछि हालसम्म गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक, सिंचाइ, विद्युत् तथा अन्य पूर्वाधार विकासका क्षेत्रमा गरेका महत्वपूर्ण कार्यहरूको विस्तृत विवरण प्रस्तुत गर्नुभयो। उहाँले सीमित स्रोत–साधनका बाबजुद गाउँपालिकाले जनताको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर विकास निर्माणका कार्यहरू अघि बढाएको बताउनुभयो।
गाउँसभामा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तथा बजेटका प्राथमिकताहरू पनि प्रस्तुत गरिएको थियो। प्रस्तुत नीति तथा कार्यक्रमले पलाता गाउँपालिकाको दिगो विकास, सुशासन, रोजगारी सिर्जना, कृषि उत्पादन वृद्धि, शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार, पर्यटन प्रवर्द्धन तथा पूर्वाधार विस्तारलाई मुख्य प्राथमिकतामा राखेको छ।
अध्यक्ष रोकायाले स्थानीय सरकार जनताकै घरदैलोको सरकार भएकाले नागरिकका समस्या, आवश्यकता र सुझावलाई आधार बनाएर योजना तर्जुमा गरिएको बताउनुभयो। उहाँले समृद्ध पलाता निर्माणका लागि सबै राजनीतिक दल, सरोकारवाला निकाय तथा आम नागरिकको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रमले आगामी दिनमा पलाता गाउँपालिकाको विकासको स्पष्ट मार्गचित्र तयार गरेको सहभागीहरूले बताएका छन्। स्थानीय स्रोत, साधन र सम्भावनाको अधिकतम उपयोग गर्दै समृद्ध, आत्मनिर्भर र विकासोन्मुख पलाता निर्माण गर्ने लक्ष्यसहित गाउँसभा सम्पन्न भएको गाउँपालिकाले जनाएको।
कालिकोट पलाँता गाउँपालिकाको १८औँ गाउँसभा सम्पन्न,

