कालिकोट – पलाँता गाउँपालिकामा लामो समयदेखि रोकिएको प्रशासनिक भवन निर्माण प्रक्रिया अब औपचारिक रूपमा अघि बढेको छ। अदालतमा विचाराधीन रहेको मुद्दा गाउँपालिकाको पक्षमा फैसला भएपछि भवन निर्माणका लागि टेण्डर आह्वान गरिएको हो।
गाउँपालिका अध्यक्ष बिष्णु बहादुर रोकायाका अनुसार साबिकका तीन गाविस समेटेर बनेको गाउँपालिकाको केन्द्र रानिविसौना मा प्रशासनिक भवन निर्माण गरिनेछ। भवन निर्माण सम्पन्न भएपछि सबै वडाका नागरिकलाई सहज पहुँच सुनिश्चित हुने र सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।
अध्यक्ष रोकायाले भने, “लामो समयदेखि रोकिएको योजना अब कार्यान्वयनमा जाने भएको छ। यसले स्थानीय तहबाट प्रदान गरिने सेवाहरूलाई थप व्यवस्थित, छिटो र पारदर्शी बनाउने विश्वास लिएका छौं।”
नयाँ प्रशासनिक भवन निर्माणसँगै गाउँपालिकाको संस्थागत क्षमता सुदृढ हुने, विभिन्न शाखाहरू एउटै स्थानमा सञ्चालन हुने तथा नागरिकले एकद्वार प्रणालीमार्फत सेवा लिन सक्ने वातावरण सिर्जना हुने जनाइएको छ।
स्थानीयवासीहरूका लागि यो योजना केवल भवन निर्माण मात्र नभई दीर्घकालीन स्थायित्व र विकासको आधारको रूपमा हेरिएको छ। लामो समयदेखिको अन्योल अन्त्य भएसँगै पलाँता गाउँपालिकाले अब स्थिरता पाएको र भविष्यमा यस्ता समस्या दोहोरिने सम्भावना न्यून भएको विश्वास गरिएको छ।
पलाँता गाउँपालिकामा प्रशासनिक भवन निर्माण अघि बढ्दै: टेण्डर आह्वान, सेवा प्रवाहमा सुधारको अपेक्षा

