बाजुरा, स्वामीकार्तिक खापर।
बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–३, जोरुकी २४ वर्षीया अनिता महताराले अस्पताल पुग्न नपाउँदै अधारी खोलाको बाटोमै शिशुलाई जन्म दिएकी छन्।
बिरामी व्यथा लागेपछि उनलाई जोरुबाट स्वास्थ्य संस्थातर्फ लैजाँदै गर्दा बाटोमै सुत्केरी भएको हो। बर्खायामका कारण सडक अवरुद्ध हुनुका साथै दुर्गम भौगोलिक अवस्थाले एम्बुलेन्स सञ्चालन गर्न कठिन भइरहेका बेला वडा नं. ३ मा कार्यरत स्वास्थ्यकर्मी घटनास्थलमै पुगेर तत्काल सुरक्षित सुत्केरी सेवा प्रदान गर्न सफल भएकी हुन्।
जुकोट स्वास्थ्य चौकीमा कार्यरत अनमी (MCHW) ज्ञानु शाहीले जोखिमपूर्ण परिस्थितिमा घटनास्थलमै पुगेर आमा र नवजात शिशुको सुरक्षित सुत्केरी गराउनुभएको हो। उहाँको साहस, कर्तव्यनिष्ठा, समर्पण र मानवताप्रतिको सेवाभाव प्रशंसनीय रहेको स्थानीयले बताएका छन्।
दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रवाह गर्ने क्रममा स्वास्थ्यकर्मीहरूले देखाउँदै आएको यस्तो समर्पणले नागरिकप्रति राज्यको आधारभूत सेवाको महत्वलाई थप उजागर गरेको छ। अनमी ज्ञानु शाहीको यस उत्कृष्ट कार्यप्रति हार्दिक सम्मान तथा उच्च प्रशंसा व्यक्त गरिएको छ।
बाटोमै सुरक्षित सुत्केरी गराउँदै अनमी ज्ञानु शाहीको उदाहरणीय सेवा

