बाजुरा — चार वर्षसम्म नेपाली कांग्रेस स्वामीकार्तिक खापर गाउँपालिकाको नेतृत्व सम्हालेका पार्टी सभापति महेश कटेलले आफ्नो कार्यकाल पूरा गर्दै जिम्मेवारी नयाँ नेतृत्वलाई हस्तान्तरण गरेका छन्। जिम्मेवारी हस्तान्तरणको क्षणमा कटेल भावुक बने। लामो समयसम्म पार्टी संगठन, नेता–कार्यकर्ता र आम नागरिकसँग जोडिएर काम गरेका कटेलले अब पार्टीको नेतृत्व नयाँ पुस्तालाई सुम्पिँदै आफू पछाडि हटेका हुन्।
कटेल सभापति बनेर जिम्मेवारी सम्हालेको अवधिमा स्वामीकार्तिक खापरमा नेपाली कांग्रेसको संगठन विस्तार र राजनीतिक गतिविधिले गति लिएको कार्यकर्ताहरू बताउँछन्। उनको कार्यकालमा करिब ४३ वटा आमभेला आयोजना भएको र विभिन्न राजनीतिक दल परित्याग गरी ११६ जना नेपाली कांग्रेसमा प्रवेश गरेको बताइएको छ। स्थानीय तहदेखि केन्द्रसम्मका विभिन्न राजनीतिक गतिविधिमा नेपाली कांग्रेसले सफलता प्राप्त गरेको पनि कार्यकर्ताहरूको भनाइ छ।
सभापति कटेलले पार्टीको जिम्मेवारीमा रहँदा स्वामीकार्तिक खापरका नेता, कार्यकर्ता तथा सर्वसाधारणलाई आवश्यक पर्दा साथ र सहयोग गर्दै आएको कार्यकर्ताहरू बताउँछन्। नेपालगन्जदेखि बाजुरासम्म उपचार, शिक्षा, रोजगारी तथा अन्य व्यक्तिगत र सामाजिक समस्यामा समेत आफूले सकेको सहयोग गर्दै कार्यकर्ताको सुख–दुःखमा साथ दिएको उनीहरूको भनाइ छ।
चार वर्षको कार्यकाल पूरा गर्दै जिम्मेवारी हस्तान्तरण गर्ने क्रममा कटेलले भावुक हुँदै आफ्नो नेतृत्वको यात्रालाई स्मरण गरे।
“मैले सकेसम्म गरेँ। कति गरेँ, कति गर्न सकिनँ, त्यो तपाईंहरूले मूल्यांकन गर्नुहुनेछ। केन्द्रदेखि गाउँसम्मका नेता–कार्यकर्ताका गुनासा सुन्दै, अनेकौँ दुःख–कष्ट सहँदै पार्टीलाई यहाँसम्म ल्याएँ। अबका दिनमा तपाईंहरूले यो पार्टीलाई अझ सही दिशातर्फ लैजानुहुनेछ भन्ने विश्वास छ,” कटेलले भावुक हुँदै भने।
कटेलको कार्यकाल सकिँदै गर्दा केही कार्यकर्ताले भने उनलाई नै पुनः सभापतिको जिम्मेवारीमा देख्न चाहेको बताएका थिए। “महेश कटेलजस्तो सभापति फेरि पाउन सक्छौँ कि सक्दैनौँ?” भन्दै कतिपय कार्यकर्ता भावुक बनेका थिए।
तर कटेलले भने आफू पुनः दोहोरिन नचाहेको स्पष्ट पारे। “पार्टीमा अवसर सबैलाई दिनुपर्छ। मैले आफ्नो जिम्मेवारी पूरा गरेँ, अब अरू साथीहरूले पनि नेतृत्व गर्ने अवसर पाउनुपर्छ,” भन्ने धारणा राख्दै उनले नयाँ नेतृत्वलाई सहज रूपमा जिम्मेवारी हस्तान्तरण गरेका हुन्।
चार वर्षसम्मको राजनीतिक यात्रापछि पदमा बसिरहनुभन्दा नयाँ नेतृत्वलाई अवसर दिने कटेलको निर्णयले कार्यकर्तामाझ भावनात्मक वातावरण सिर्जना गरेको थियो। नेतृत्व हस्तान्तरणको क्षणमा कतिपय कार्यकर्ताले कटेलप्रति सम्मान र धन्यवाद व्यक्त गरेका थिए।
कार्यकर्ताहरूले महेश कटेललाई इमानदार, सहयोगी, सरल र जिम्मेवार नेतृत्वका रूपमा स्मरण गरेका छन्। उनीहरूको भनाइमा, पदमा रहँदा मात्र होइन, पदबाट बाहिरिँदा पनि पार्टीप्रति जिम्मेवारी र सम्मान देखाउँदै नेतृत्व हस्तान्तरण गर्नु उनको राजनीतिक यात्राको महत्वपूर्ण पक्ष बनेको छ।
चार वर्षको कार्यकालपछि महेश कटेलले पद छाडेका छन्, तर कार्यकर्तासँगको उनको सम्बन्ध र संगठनप्रतिको योगदान भने आगामी दिनमा पनि निरन्तर रहने अपेक्षा गरिएको छ। पद हस्तान्तरण भयो, तर पार्टीप्रतिको जिम्मेवारी र सम्बन्धको यात्रा भने अन्त्य भएको छैन।
स्वामीकार्तिक खापरमा उदाहरणीय नेतृत्व गर्दै महेश कटेलद्वारा पार्टी जिम्मेवारी हस्तान्तरण

