जगन्नाथ
जगन्नाथ गाउँपालिकामा जनप्रतिनिधि तथा कर्मचारीहरूका लागि स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली (LGPAS) सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रमको पहिलो दिन मिति २०८२ चैत ९ गते सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम गाउँपालिका अध्यक्ष श्री काली बहादुर शाहीको अध्यक्षतामा आयोजना गरिएको थियो।
कार्यक्रमको मुख्य उद्देश्य स्थानीय तहको कार्यसम्पादनलाई पारदर्शी, प्रभावकारी तथा उत्तरदायी बनाउनुका साथै सेवा प्रवाहको गुणस्तर अभिवृद्धि गर्नु र संस्थागत क्षमता विकासमार्फत सुशासन प्रवर्द्धन गर्नु रहेको जनाइएको छ। साथै LGPAS प्रणालीमार्फत कार्यसम्पादन मूल्याङ्कनका सूचक, प्रक्रिया तथा व्यवहारिक प्रयोगबारे स्पष्ट जानकारी प्रदान गर्दै गाउँपालिकाको समग्र कार्यक्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको थियो।
कार्यक्रमको सञ्चालन सूचना अधिकारी राजेन्द्रप्रसाद जोशीले गर्नुभएको थियो। प्रशिक्षकका रूपमा देवेन्द्र बहादुर गुरुङ र टिका प्रसाद उपाध्यायले सहजीकरण गर्दै LGPAS प्रणालीको अवधारणा, आवश्यकता, कार्यान्वयन प्रक्रिया तथा मूल्याङ्कनका आधारहरूबारे विस्तृत प्रशिक्षण दिनुभयो।
अभिमुखीकरण कार्यक्रममा वडा अध्यक्षहरू, विषयगत शाखाका प्रमुखहरू, वडा सचिवहरू तथा पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गर्दै गाउँपालिकाको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रमको दोस्रो दिनमा थप व्यावहारिक अभ्यास र अन्तरक्रियात्मक सत्रहरू सञ्चालन हुने जनाइएको छ।
जगन्नाथ गाउँपालिकामा LGPAS अभिमुखीकरण सुरु, सुशासन र प्रभावकारी सेवा प्रवाहमा जोड

