बाजुरा : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूको उद्धार तथा राहतका लागि त्रिवेणी नगरपालिकाले आर्थिक सहयोग गरेको छ। नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २२ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने बताए ।
त्रिवेणी नगरपालिकाका नगर प्रवक्ता एवं वडा नम्बर ३ का वडा अध्यक्ष मीन बहादुर भण्डारीका अनुसार बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहत कार्यमा टेवा पुगोस् भन्ने उद्देश्यले नगरपालिकाले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो।
यो सहयोग रकम नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीहरू र नगरपालिकाको विपद् राहत कोषबाट संयुक्त रूपमा सहयोग गरिएकाे प्रवक्ता भण्डारीले जानकारी दिनुभयो। प्राकृतिक विपत्तिको घडीमा प्रभावित नागरिकहरूलाई मलम पट्टी लगाउन र मानवीय सहायता पुर्याउन नगरपालिकाले आफ्नो तर्फबाट यो कदम चालेको उहाँले बताउनुभयो।

